प्रदेश १ साक्षर प्रदेश घाेषणा

माेरङ- प्रदेश १ साक्षर प्रदेश भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका छन्।

बिहीबार विराटनगरमा आयोजित साक्षर प्रदेश घोषणा समारोहमा प्रदेश १ प्रदेशसभाका सभामुख भण्डारीले यस्ताे घाेषणा गरेका हुन्।

२०७२ सालमा पाँचथर जिल्लाबाट सुरु गरिएको साक्षरता अभियानले प्रदेशको १४ जिल्लामा मूर्त रूप लिन सफल भएको उनकाे भनाइ छ।

प्रदेशका सबै जिल्ला नै साक्षर भएकोमा बधाई दिँदै सभामुख भण्डारीले प्रदेश सरकारले शिक्षा तथा साक्षरताको सन्दर्भ सरकारको नीति तथा कार्यक्रममा राख्दै आएको बताए।

कार्यक्रममा भण्डारीले शिक्षा ऐन, कानुन बन्न नसक्दा अन्यौल हुँदै आएको जनाए।

संविधानले स्थानीय तहलाई शिक्षाको अधिकार तोके पनि सभामुख भण्डारीले शिक्षा अधिकार कुन तहसम्मका लागि हुने भन्ने विषय विवादित अवस्थामा रहेको बताए। केही स्थानीय तहले शिक्षा नियमावली बनाएर काम गरिरहेको उनको भनाइ छ।

आयोजक सामाजिक विकास मन्त्रालय प्रदेश १ सरकारका अनुसार प्रदेशमा १५ देखि ६० वर्षको उमेर समूहका ९६ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको तथ्यांक छ।

यसक्रममा ओखलढुंगामा ९९ दशमलव ५ प्रतिशत, र कममा उदयपुर जिल्ला ९५ दशमलव ३२ प्रतिशत साक्षर भएको मन्त्रालयले जनाएको छ। सुगम जिल्लाका रूपमा रहेको मोरङमा ९६ दशमलव ५, सुनसरीमा ९५ दशमलव ५ र झापामा ९८ दशमलव ३३ प्रतिशत साक्षरता भएको बताइएको छ।

प्रदेशमा ४५ लाख ३४ हजार ९ सय ४३ जनसंख्या रहेकोमा कुल ९६ दशमलव ७४ प्रतिशत साक्षर रहेको मन्त्रालयको तथ्यांक छ। १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुँदा सो क्षेत्रलाई साक्षर भएको युनेस्कोको प्रावधान रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *