साविक विजेता सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

काठमाडौं– काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको कोशी प्रदेशले फाइनलमा स्थान बनाएको छ। साविक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै कोशी फाइनलमा प्रवेश गरेको हो।

जितका लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेशले १३ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्योि। कोशीको जितमा काजोल श्रेष्ठले ३५ बलमा ७ चौकासहित ३८ रनको अविजित इनिङ खेल्दा रुविना क्षेत्रीले ३७ रन बनाएकी थिइन। त्यस्तै अप्सरी बेगम १२ रनमा अविजित रहँदै टिमको जित निश्चित गरिन्।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८८ रन बनाएको थियो। सुदूरका लागि सम्झना खड्काले २४ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै ओपनर विन्दु रावलले १७ रन बनाउँदा कविता जोशीले १५ रन बनाएकी थिइन्। कोशीका लागि संगिता राईले २ विकेट लिंदा सब्नम राई, निशा साहा, अलिशा खाडियाले समान १–१ विकेट लिए।

कोशी प्रदेशले अब उपाधिका लागि बुधबार एपिएफसँग प्रतिस्पर्धा गर्ने छ। एपिएफले पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले हराएर फाइनलमा पुगेको थियो। सुदूरपश्चिमले एलिमिनेटरचरणमा बागमती प्रदेशलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाए पनि त्यसभन्दा अघिको यात्रा तय गर्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *