मन्त्री ज्वालाको प्रष्टीकरणः बालकुमारी सडक अवरोध भएको कुरा सुरक्षा निकायले जानकारी गराएन

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताएका छन्।

सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले गत शुक्रबार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले सो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताएका हुन्।

गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरी हस्तक्षेपका कारण दुई जना युवाहरुको ज्यानसमेत गएको थियो।

सोही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रीय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिन पनि बैठकस्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताए।

उनले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरु बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भए पनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको स्पष्ट पारे।

आफूहरुलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उनको भनाइ छ। मन्त्री ज्वालाले घटनाप्रति आफू दुःखी रहेको बताए। उनले घटनामा आफूहरुको कुनै सम्बन्ध नभएको पनि उल्लेख गरे।

आफूहरु निर्दोष हुँदाहुँदै पनि आरोपित गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। उनले आफूहरु नै पीडित पक्ष भएको भन्दै सुरक्षाकर्मीहरुको कमजोरीलाई आफूहरुतिर थोपरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *