सातै प्रदेशमा अहिलेको गठबन्धनको सरकार बन्छ : रक्षामन्त्री खड्का

सुर्खेत — कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकार छिट्टै बन्ने उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । शनिबार गृहजिल्ला सुर्खेत आएका रक्षामन्त्री खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केन्द्रीय समीकरणअनुसार नै सातै प्रदेशमा सरकार बन्ने बताएका हुन् ।

‘गठबन्धनका सबै दलले आत्मसमीक्षा गरेर त्यही बाटो ठीक छ,’ उनले भने, ‘त्यही गठबन्धन ठीक छ । नेपाली जनतालाई विभिन्न समस्याबाट मुक्ति दिन यही गठबन्धन ठीक छ भनेर अगाडि बढेको हो । १२ बुँदे शान्ति सम्झौतामा नेपाली कांग्रेस र माओवादीको मुख्य भूमिका रहेको र यसैबाट देशमा शान्ति स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता आएको हो ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तुतिले पुरानै गठबन्धनमा फर्किने आधार बनेको उनले बताए । सरकारले देशको अर्थतन्त्र सुधारमा काम गर्ने पनि उनको दाबी छ । उनले अगाडि भने, ‘चुनौती र अवसर दुवै छ। चुनावका बेला प्रचण्ड र मैले गरेका वाचा पूरा गर्ने छौं । संघ, प्रदेश अनि स्थानीय सरकारको बजेट जोडेर काम हुनेछ । कर्णाली करिडोर बजेट बन्दै छ दाता पनि खोज्दै छौं । विकासका काम अगाडि बढाउने गरी कानुन निर्माण गरिने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *