इन्टर मियामीमा २०२५ सम्म मेसीको आधिकारिक सम्झौता

अर्जेन्टिनाका विश्व च्याम्पियन स्टार लिओनल मेसीले अमेरिकाको एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक अनुबन्ध गरेका छन्। ३६ वर्षीय मेसीले इन्टर मियामीसँग शनिबार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सात पटकको बालोन डि’ओर विजेता मेसीले गसिजनको अन्त्यपछि फ्रेन्च क्लब पिएसजी छाडेका थिए। मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन्। ‘अमेरिकन क्लब इन्टर मियामीसँग आफ्नो खेल जीवनको नयाँ अध्यायको सुरुवातका लागि म निकै उत्साहित छु’, उनले भने।

मेसीले पहिलो पटक युरोप बाहिरको लिग खेल्न लागेका हुन्।

उनले भने, ‘यो उत्कृष्ट अवसर हो र हामी सबै मिलेर यसलाई अझ राम्रो बनाउनु पर्छ।’

इन्टर मियामीका मालिकसमेत रहेका पूर्व फुटबलर डेभिड बेकह्यामले मेसी अनुबन्धपछि एउटा ठूलो सपना पूरा भएको बताए।

यही जुलाई २१ मा क्रुज अजुल विरुद्ध हुने लिगको पहिलो खेलका लागि मेसी अब टिममा रहने छन्। बार्सिलोनामा दुई दशक बिताएपछि २०२१ मा पिएसजी पुगेका मेसीले त्यहाँ ७५ खेलमा ३२ गोल गरे।

गत सिजन उनले १६ गोल र १६ असिस्ट गरेका थिए। मेसीले बार्सिलोनाका लागि कीर्तिमानी ६७२ गोल गर्दा १० ला-लिगा, चार च्याम्पियन्स लिग तथा सात स्पेनिस कप समेत जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *