नेपालमा पहिलोपटक हक्की फ्लडलाइट्समा खेलियो, खेलाडी उत्साहित

मोरङ – नेपालमा पहिलोपटक हक्की खेल फ्लड लाइट्समा खेलिएको छ। विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत पूर्वविजेता गण्डकी प्रदेश र साविक विजेता त्रिभुवन आर्मीबीचको खेल राति भएको हो।

प्रतियोगिता संयोजक तथा पूर्व अन्र्तराष्ट्रिय खेलाडी रञ्जन थापाका अनुसार हक्कीलाई रात्रिकालिन बनाउन सकिने आधार तयार गर्ने क्रममा पहिलोपटक खेल सम्पन्न भएको हो। विदेशमा हुने प्रतियोगितामा नेपाली टोलीको सहभागिताबाहेक स्वदेशमा पहिलोपटक हक्कीको खेल रात्रिकालीन संभवन भएको उनको भनाइ छ।

थापाले भने, ‘हामीले हक्कीलाई संरक्षण गर्नेक्रममा नौलो सुरुआतको प्रयास गरेका हाँै। हक्कीको स्थायी नभएको अवस्थामा कम्तीमा यसरी रात्रि खेल गर्दै दर्शक र खेलप्रेमीलाई आकर्षण गराउन सकिनेतर्फ केन्द्रित भएका हाँै। फुटबल, क्रिकेटसँग अब मैदानमा हक्कीपनि राति गराउन सकिने आधार तयार भएको छ। यसलाई स्थायित्व दिनका लागि खेलकुदका निकायले गम्भीर भएर साथ दिन आवश्यक छ।’

२०१० सालमा हक्की संघको स्थापना भए पनि त्यसअघिबाटै हक्की खेल्न थालिएको उनको भनाइ छ। यद्यपि, २०५१ सालमा भारतको मद्रासमा पहिलोपटक सातौ साफ खेलकुदमा हक्कीले सहभागिता जनाएको बताएका थापाले बत्तीमुनि पहिलोपटक खेल्दै पूर्वाधार निर्माणमा सरकारलाई जागरुक बनाउने प्रयास गरेको बताए।

त्यसैगरी, जारी प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएका गण्डकी प्रदेशका कुशल नेपाली भने रात्रिकालीन खेलले उत्साहित बनाएको बताउँछन्। ७ वर्षदेखि हक्कीको स्टीकमा रमाउँदै आएको बताएका नेपालीले दिउँसोको वातावरणभन्दा राति खेल्दा थकान अनुभव कम हुने उल्लेख गर्छन्। पोखरा गगनडाँडाका नेपाली भन्छन्, ‘पहिलोपटक रात्रिकालीन खेल खेलियो। दिउँसो खेल्दा हुने समस्याबाट टाढै भइयो।

दिउँसो खेल्दा ज्वरो आउने, टाउको दुख्ने, घाटीमा समस्या हुने गर्छ। तर बगमिूनि पहिलोपटक खेल्दा ती सबै कुराबाट टाढा भएको अनुभव भयो। यसलाई अझ ब्यवस्थित बनाउन सके हक्कीलाई गर्मी मौसममा समेत खेलाउन सकिनेछ।’

कक्षा १२ मा पढ्दै गरेका नेपालीका लागि पोखरामा सम्पन्न ९ औं राष्ट्रिय खेलकुदपछिको जारी प्रतियोगिता नै पहिलो रहेको छ। २०७१ सालताका १२ वर्षमूनिको फुटबल प्रतियोगिताका लागि जापान समेत पुगेका नेपालीले त्यसपछि हक्कीमा भविष्य खोजिरहेको बताउँछन्। उनी भन्छन्, ‘विराटनगरमा भइरहेको प्रतियोगितामा मेरो पहिलो सहभागिता हो। पछिल्लो दुई खेल भन्दा आज राती खेल्दा निकै उत्साहित महसुस गरेको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *